कीर्तिपुर क्रिकेट मैदान आसपासमा नै खेलाडीका लागि आवास बनाउनेछु: मन्त्री श्रेष्ठ
काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुर क्रिकेट मैदान आसपासमा नै खेलाडीहरुका लागि होस्टेलको व्यवस्था गर्ने बताउनुभएको छ ।
बिहीबार निरीक्षण एवं अवलोकनका लागि कीर्तिपुर क्रिकेट मैदानमा पुग्नुभएका मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । मन्त्री श्रेष्ठले अन्य देशहरुमा मुख्य मैदान आसपासमै खेलाडीहरुका लागि होस्टेलको व्यवस्था गरिएको हुने भन्दै नेपालले पनि सोही अनुभवबाट सिक्दै खेल मैदान आसपासको क्षेत्रमा नै खेलाडी आवास निर्माण गर्न होटल व्यवसायी संघ (हान)सँग आग्रह गर्ने बताउनुभयो । जसले खेलाडीहरुलाई मैदानमा अभ्यास गर्न जान पनि सहज हुने उहाँको विश्वास छ ।
मन्त्री श्रेष्ठले फ्लड लाइट जडानको कुरा केही प्राविधिक र प्रशासनिक त्रुटीका कारण रोकिरहेको भन्दै आगामी आर्थिक वर्षका लागि २० करोड रुपैयाँ छुट्याइएको बताउनुभयो । संरचनालाई सुदृढीकरण गर्ने र अन्तर्राष्ट्रिय स्तरमा अन्य राष्ट्रलाई संरचना बनाउदै प्रतिस्पर्धामा आउँदैछौं भन्ने किसिमको सन्देश दिन लागेको बताउनुभएकोे छ । कीर्तिपुर क्रिकेट मैदानमा खानेपानी र शौचालयको समस्या समाधानका लागि पहल शुरु गर्ने पनि उहाँले बताउनुभयो ।
त्यस्तै, क्यानका सचिव पारस खड्काले पूर्वाधारको कुरा गर्दा अबको ५ महिनासम्म अन्तर्राष्ट्रिय नरहेकाले क्रिकेट पूर्वाधार बनाउने काममा आफूहरु लागिसकेको बताउनुभएको छ । उहाँले क्रिकेट पिचलाई व्यवस्थित गर्ने, मैदान पुग्ने दर्शकलाई छुट्याएर पुरुष-महिला शौचालय निर्माण गर्ने र भिआईपी क्षेत्रमा स्ट्रक्चर प्लान गर्ने सोच रहेको बताउनुभयो । स्कोर बोर्डको टेण्डर पास भएको र फ्लड लाइटको पनि ४५ दिनसम्ममा टेण्डर सकिएर काम शुरु हुने आशा रहेको उहाँको भनाइ छ ।
सोही अवसरमा मन्त्री श्रेष्ठले क्रिकेटर सन्दीप लामिछानेसँग पनि भेट गर्नुभएको हो । लामिछानेसँग सरकारले विश्वकप खेल्न पठाउनका लागि कुटनीतिक पहल गरेको र विश्वकप खेल्न जान पाउनेमा आशावादी रहेको पनि उहाँले बताउनुभयो ।
नेपालले आईसीसी टी-२० विश्वकप २०२४ मा भाग लिंदैछ । जसका लागि नेपाल एक महिनाअघि नै अमेरिका-वेस्टइण्डिज पुगेर त्यहाँका विभिन्न क्लब र विश्वकप अगाडिको खेलहरु खेलिसकेको छ । नेपालले विश्वकपको वार्मअपमा यसअघि क्यानाडासँग खेलिसकेको हो ।
नेपालले अमेरिकासँग अहिले खेलिरहेको छ । विश्वकप जुन २ तारिखबाट अमेरिका र वेस्टइण्डिजमा शुरु हुने भएको हो । जसमा नेपालले भने जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग खेलेर विश्वकपको शुरुवात गर्ने भएको छ ।