आईपिएलमा हैदरावादको ऐतिहासिक जित, आज पञ्जाब र रोयलबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको छ।
राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको लखनउले दिएको १ सय ६६ रनको लक्ष्य हैदरावादले ९.४ ओभरमै भेट्टाएको हो। हैदरावादको ऐतिहासिक जितका लागि ओपनर टेभिस हेड र अभिषेक शर्माले १ सय ६७ रनको ऐतिहासिक साझेदारी गरेका छन्।
हेडले ३० बलमा ८ चौका र ८ छक्काको मद्दतमा नटआउट ८९ रन बनाएका हुन् । अभिषेकले २८ बल खेल्दै ८ चौका र ६ छक्काको मद्दतमा नटआउट ७५ रन बनाएका छन्। लखनउका कुनै पनि बलरले विकेट हात पार्न सकेनन्।
बुधबार भएको खेलमा हैदरावादले लखनउविरुद्ध आईपिएल इतिहासमै धेरै रेकर्ड बनाएको छ। सबै भन्दा ठूलो साझेदारी, बिना विकेटको जित र ओपनरको ऐतिहासिक साझेदारीको रेकर्ड हैदरावादले बनाएको हो। टी-२० क्रिकेटमा १० ओभरमै १ सय ६६ रनको चुनौती पूरा गरेको रेकर्ड समेत हैदरावादले बनाएको छ।
डेभिस हेडले मात्र १६ बलमा अर्धशतक पूरा गरे भने अभिषेक शर्माले १९ बलमा अर्धशतक बनाएका हुन् । उनीहरुले पावर प्लेमा १ सय रनको साझेदारी समेत गरेका छन् । शुरुमा ब्याटिङ गरेको लखनउका लागि आयुष बदोनीले नटआउट सर्वाधिक ५५ रन बनाएका थिए। कप्तान केएल राहुल २९ र क्रुनाल पाण्ड्या २४ रनमा आउट हुँदा निकोलस पुरन ४५ रनमा अविजित रहेका हुन्।
हैदरावादका भुवनेश्वर कुमारले सर्वाधिक २ विकेट हात पार्दा प्याट कमिन्सले एक विकेट लिएका थिए।
सोही जितसँगै हैदरावादको प्लेअफ सम्भावना दलियो भएको छ। अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हैदरावादले १२ खेलमा ७ जित निकाल्दै १४ अंक जोडेको हो।
हैदरावादसँग पराजित भएको लखनउ भने छैठौं स्थानमा झरेको छ। १२ खेल खेलेको लखनउले ६ खेलमा जित निकाल्दै १२ अंक जोडेको हो । आईपिएल अन्तर्गत बिहीबार राति पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच प्रतिस्पर्धा हुने भएको छ ।
सोही खेल बिहीबार राति पौने ८ बजेदेखि शुरु हुने भएको छ ।