टी-२० क्रिकेट सिरिजको चौथो खेलमा पनि नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित
काठमाडौं । टी–२० क्रिकेट सिरिजको चौथो खेलमा बिहीबार वेस्ट इन्डिज ’ए’ विरुद्ध नेपाल २८ रनले पराजित भएको छ ।
वेस्ट इन्डिज ’ए’ ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभर १ सय ८१ रन बनाउँदा अल आउट भएको हो । नेपालका कप्तान रोहित पौडैलले सबै भन्दा धेरै ८२ रन बनाएका छन् । सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा समान १९ रन बनाएर आउट भएका हुन् ।
त्यस्तै, अविनाश बोहराले नट आउट १७ रन बनाएका छन् । वेस्ट इन्डिज ’ए’ का म्याथ्यु फोर्डे र हेडन वाल्शले समान ३ विकेट लिएका थिए । त्यस्तै, फबेन एलेन र गुदाकेश मोटीले समान २ विकेट लिएका हुन् ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ’ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । वेस्ट इन्डिज ’ए’ का आन्द्रे फ्लेचरले सबै भन्दा धेरै नट आउट ८४ रन बनाएका छन् । त्यस्तै, जोनसन चार्ल्सले ५८ र पबेन एलेनले नट आउट ३३ रन बनाएका हुन् ।
नेपालका कुशल भुर्तेलले २ र प्रतिस जिसीले १ विकेट लिएका छन् । योसँगै वेस्ट इन्डिज ’ए’ ले एक खेलअघि नै टी–२० क्रिकेट सिरिज जितेको हो । पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो ।
त्यस्तै, दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रन र बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो । सिरिजको पाँचौं तथा अन्तिम खेल शनिबार हुने भएको हो ।
नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग ५ खेलको सिरिज खेलिरहेको छ ।