क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेशीमा आज सुनुवाई हुँदै
काठमाडौं । बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ ।
जिल्ला अदालतको फैसलाप्रति लामिछानेले गरेको पुनरावेदनमा मंगलबार सुनुवाईका लागि पेशी तोकिएको हो । पछिल्लो पटक गत वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेशी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेपछि स्थगित भएको थियो ।
यसअघि पनि सुनुवाईका लागि पटक पटक पेशी तोकिएको सोही मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको छ । काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणीमा दोषी ठहर गर्दै ८ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना तथा थप २ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो ।
सोही फैसलाविरुद्ध लामिछाने पुनरावेदनका लागि गत फागुन १० गते उच्च अदालत पाटनमा निवेदन दिएका हुन् ।