आईपीएलमा पहिलो क्वालिफायर खेलमा आज कोलकता र हैदरावादबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार पहिलो क्वालिफायर खेलमा कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ ।
श्रेयस अय्यरको कप्तानीमा रहेको कोलकता र प्याट कमिन्सको नेतृत्वमा रहेको हैदरावादको पहिलो क्वालिफायर खेल अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा मंगलबार राति पौने ८ बजेदेखि शुरु हुने भएको हो । कोलकताका सुनिल नारायन, आन्द्रे रसेल, फिल साल्ट, श्रीयस अय्यर र रिंकु सिंहलाई प्रभाव पर्ने ब्याट्सम्यानको रुपमा हेरिएको छ।
जुनसुकै बेला प्लेइङ–११ ले प्रभाव जमाउने छन्। बलिङतर्फ समेत सुनिल नारायन अगाडि छन्। वरुण चक्रवर्ती, हर्षित राना, आन्द्रे रसेल र मिचेल स्टार्कले बलिङमा उत्तिकै प्रभाव पार्ने भएका हुन्। आईपीएल इतिहासमा कोलकताले पहिलो क्वालिफायरमा पराजय भोगेको छैन।
अहिलेसम्म २ पटक पहिलो क्वालिफायर खेलेको कोलकताले दुवै पटक फाइनल पुगेर उपाधि उचालेको छ। १३ पटक आईपीएलको प्लेअफ पुगेको कोलकताले ८ पटक जित निकाल्दा ५ खेलमा पराजय भोगेको हो । मंगलबारको खेललाई महत्वका साथ हेरिएको छ।
सोही सिजनमा हैदरावादको खेललाई हेर्दा पहिलो क्वालिफायरबाट फाइनल पुग्ने सम्भावना उत्तिकै रहेको हो । हैदरावादका ट्रेभिस हेड र अभिषेक शर्माको आक्रामक ओपनिङमा थुप्रै रेकर्ड बनेका छन्। यो शुरुवाती ब्याटिङ कोलकताका लागि चुनौती बन्न सक्छ। उसका लागि हेनरिक क्लसेन र नितिश कुमार रेड्डीसमेत फममा रहेका छन्।
बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार, कप्तान प्याट कमिन्स, टि नटराजन र आकाश सिंह कोलकताका लागि भारी बन्न सक्ने देखिन्छ। पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्ने दुवै टिमले फाइनलका लागि अवसर पाउने भएका छन्। क्वालिफायर १ को विजेता सिधै फाइनल प्रवेश गर्ने र पराजित टिमले एलिमिनेटरको विजेतासँग फाइनलका लागि पुनः प्रतिस्पर्धा गर्न पाउने भएको हो ।
बुधबार एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्ने भएका छन्। एलिमिनेटरमा पराजित टिमको भने आईपीएल यात्रा समाप्त हुने भएको हो ।