ब्राजिलद्वारा कोपा अमेरिका खेल्ने २३ सदस्यीय फुटबल टिमको घोषणा
काठमाडौं । ब्राजिलले कोपा अमेरिका खेलका लागि फुटबल टिमको घोषणा गरेको छ ।
आगामी जुन २० देखि जुलाई २४ तारिखसम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिमको घोषणा गरेको हो । ब्राजिलले कोपा अमेरिका खेल्ने टिममा नेइमार, क्यासेमिरो, गाब्रियल जिसस र रिचार्लिसन जस्ता खेलाडीलाई बाहिर राख्दै टिमको घोषणा गरेको छ ।
कोपा अमेरिकामा ब्राजिल समूह ‘डी’ मा रहेको हो । जसमा ब्राजिलसहित कोलोम्बिया, पराग्वे र कोस्टारिका रहेका छन् । ब्राजिलले कोपा अमेरिकामा आफ्नो पहिलो खेल जुन २४ तारिखमा कोस्टारिकाविरुद्ध खेल खेल्ने भएको हो ।
ब्राजिलको टिम यस्तो छ:
गोलकिपरमा बेन्टो, एडरसन र एलिसन रहेका हुन् । डिफेन्डरमा डानिलो, यान कोउटो, गुइलहेर्मे अराना, वेनडेल, बेराल्डो, एडर मिलिताओ, गाब्रियल मागालहाएस र मार्क्युनोस रहेका छन् ।
मिडफिल्डरमा आन्द्रेज पेरेइरा, जोआओ गोमेज, ब्रुनो गुइमारेज, डोगलस लुइज र लुकास पाक्वेटा रहेका हुन्। फरवार्डमा एनड्रिक, एभानिल्सन, रोड्रीगो, गाब्रियल मार्टिनेली, राफिन्हा, साभिन्हो र भिनिसियस जुनियर रहेका छन् ।