कानून बनाउनका लागि जनस्तरबाट सुझाव संकलन गर्ने तयारी गरेकोछु: कानूनमन्त्री गिरी
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले कानून बनाउनका लागि जनस्तरमा सुझाव संकलन गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।
शुक्रबार मन्त्रालयमा कानूनका विद्यार्थीहरूसँग छलफल गर्दै उहाँले यस्तो बताउनुभएको हो । कानून निर्माणका लागि सुझाव माग्न सुझाव बैंक स्थापना गर्ने तयारी गरिएको उहाँको भनाइ छ ।
उहाँले सुझाव बैंकमार्फत आमनागरिकले कानून संशोधन गर्न सुझाव दिन सक्ने पनि जानकारी गराउनुभयो। सुझाव अनुसार सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव, सम्बन्धित विषय विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरिने उहाँले बताउनुभएको छ।
संसदभित्रका निश्चित सांसदहरूले मात्रै कानून बनाउन जानेको छ भन्ने कुराबाट बाहिर निस्किनुपर्ने उहाँको तर्क थियो । सांसदको वृत्त भन्दा बाहिर पनि विषय विज्ञ र अनुभवी मानिसहरू भएको भन्दै कानून निर्माणमा उनीहरूको सुझावलाई पनि ग्रहण गर्नुपर्ने मन्त्री गिरीको भनाइ छ ।
कानूनका विद्यार्थीहरूसँग विषयमा निरन्तर छलफल गर्ने बताउँदै मन्त्री गिरीले सल्लाह र सुझावलाई ग्रहण गर्ने पनि जानकारी दिनुभयो ।