एमालेको 'राष्ट्रिय महिला भेला' आजदेखि शुरू
काठमाडौं । नेकपा एमालेले ‘राष्ट्रिय महिला भेला’ बुधबारदेखि शुरू गर्ने भएको छ ।
प्रज्ञा भवन कमलादीमा हुने सोही भेलाको सम्पूर्ण तयारी पूरा भएको पार्टीका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिनुभएको हो । भेलामा पार्टीका २३ वटै जनसंगठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, पार्टीको प्रदेश, जिल्ला कमिटीका महिला पदाधिकारी र अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब ५ हजार जनाको सहभागीता रहने भएको छ ।
एमालेले २०६३ साल जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेदकारी कानूनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई संसदको संकल्प प्रस्तावका रूपमा पास गरेको स्मरणमा सोही भेलाको आयोजना गरिएको जनाएको हो ।
बिहीबारसम्म संचालन हुने भेलामा सहभागीहरुलाई १२ समूहमा विभाजन गरी छलफल गरेपछि निष्कर्षसहित सरकारलाई सुझाव दिने एमाले केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो ।