ललितपुर मेयर्स कप महिला टी-२० क्रिकेटको उपाधि एपीएफले जित्यो
काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-२० क्रिकेटको उपाधि शनिबार एपीएफ क्लबले अपराजित रहँदै जितेको छ ।
एपीएफले शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्चक जित हाशिल गरेको हो । सुदूरपश्चिमका लागि अन्त्यमा आक्रामक ब्याटिङ गर्दै जित नजिक पुगे पनि अन्त्यमा २ रनले एपीएफ विजयी भएको छ ।
कविता जोशी १९ औं ओभरमा ३ छक्कासहित २३ रन बनाएकी थिइन् । तर अन्तिम ओभरमा ६ रन मात्र आवश्यक रहेकोमा सो बनाउन नसकेपछि सुदूरपश्चिमले जित हाशिल गर्न सकेन ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । योसँगै एपीएफले लगातार चौथो पटक ललितपुर मेयर्स कपको उपाधि जितेको छ ।