वर्षाका कारण अमेरिकासँगको खेल रद्ध, नेपालले अब सिधै आईसीसी टी-२० विश्वकप खेल्ने
काठमाडौं । आईसीसी टी-२० विश्वकप अगाडिको नेपाल र अमेरिकाको औपचारिक अभ्यास खेल वर्षाले रद्ध भएको छ।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा पानी परेपछि निर्धारित समयमा खेल शुरु हुन नसकेको हो। बिहीबार राति सवाँ ९ बजे शुरु हुने भनिएको खेल लामो समयसम्म वर्षा नरोकिएपछि टस भइसकेपछि अवरुद्ध भएको छ । अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको थियो।
नेपाल पहिलो औपचारिक अभ्यास खेलमा क्यानाडासँग ६३ रनले पराजित भएको थियो। नेपालले अब यहि जेठ २२ गते नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै सिधै विश्वकप खेल्ने भएको छ। विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जेठ ३० गते श्रीलंका, तेस्रो खेल असार १ गते दक्षिण अफ्रिका र चौथो खेल असार ३ गते बंगलादेशसँग खेल्ने भएको हो।
२० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष २ वटा टोली सुपर ८ मा प्रवेश गर्ने भएका हुन् । नेपालले १० वर्षपछि टी-२० विश्वकप खेल्न लागेको छ ।
नेपालले बंगलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो।