आईपीएलमा वर्षाले खेल अवरूद्ध भएपछि कोलकता र राजस्थानको अंक बाँडियो
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत समूह चरणको अन्तिम खेल सोमबार वर्षाले अवरुद्ध भएको छ ।
एउटा बल पनि नफाली खेल वर्षाले अवरुद्ध भएपछि कोलकता नाइट राइडर्स र राजस्थान रोयल्सले अंक बाँडेका हुन् । एक-एक अंक बाँडेपछि शीर्ष स्थानको कोलकता २० अंकसहित शीर्ष स्थानमै कायम रहेको छ । राजस्थान तेस्रो स्थानमा झरेको हो ।
समान १७ अंक बनाएको सनराइजर्स हैदरावादभन्दा कम रनरेट हुँदा राजस्थान तेस्रो स्थानमा झरेको हो । हैदरावाद आइतबार पञ्जाब किंग्सलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको थियो । अब पहिलो क्वालिफायरमा कोलकाता र हैदरावादकाबीच मंगलबार प्रतिस्पर्धा हुने भएको छ । एलिमिनेटरमा राजस्थान र रोयल्स च्यालेन्जर्स बैंगलोरकाबीच बुधबार प्रतिस्पर्धा हुने भएको हो ।
पहिलो क्वालिफायरमा विजयी टिम सिधै फाइनल पुग्ने भएको छ । पहिलो क्वालिफायरमा पराजित टिम र एलिमिनेटरमा विजयी टिमले दोस्रो क्वालिफायर खेल्ने भएका हुन् ।