कांग्रेसका सभापति देउवा निवासमा प्रतिपक्षी दलको बैठकमा सत्ता पक्षका माधव नेपाल पनि सहभागी
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार साँझ प्रतिपक्षी दलका नेताहरूसँग छलफल गर्नुभएको छ ।
सभापति देउवा निवास बुढानीलकण्ठमा भएको प्रतिपक्षी दलहरूको बैठकमा सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी हुनुभएको हो । उहाँ बुधबार साँझ सांसद मेटमणि चौधरीलाई लिएर बुढानीलकण्ठ पुग्नुभएको छ ।
बुढानीलकण्ठमा भएको प्रतिपक्षी दलहरूको बैठकबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निस्किनुभएको हो ।
त्यसपछि लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर र नेकपा एसका अध्यक्ष नेपाल एकसाथ बुढानीलकण्ठबाट बाहिरिएका छन् ।
मंगलबार आगामी आर्थिक वर्षको बजेट संसदमा पेश भइसकेको अवस्थामा सभापति देउवाले प्रतिपक्षी दल नेताहरूलाई बुढानीलकण्ठमा बोलाउनुभएको हो । सभापति देउवा निवासमा भएको प्रतिपक्षी दलको बैठकमा भएको कुराकानीको बारेमा दुवै पक्षले केही खुलाएका छैनन् । बुढानीलकण्ठ वार्तामा वर्तमान राजनीतिक अवस्था र मधेश सरकार गठनको बारेमा छलफल भएको जनाइएको छ ।
पछिल्लो समय अध्यक्ष नेपाल सत्ता समीकरणसँग असन्तुष्ट रहेका विवरण बाहिर आइरहेका हुन् । सोही अवस्थामा सभापति देउवासँग प्रतिपक्षी नेताहरूसहित अध्यक्ष नेपाल पनि सहभागी हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।