देशका ५ प्रदेशमा आज मेघगर्जन/चट्यांगसहित मध्यम वर्षाको सम्भावना
काठमाडौं । नेपालमा स्थानीय वायु-पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।
बिहीबार बिहान कोशी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको हो । साथै बाँकी भू-भागमा भने मौसम आंशिकदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार दिउँसो भने कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो । त्यस्तै, कोशी प्रदेश र बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी/हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो ।
बिहीबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो ।
त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।