प्रधानमन्त्री दाहाल, केपी ओली र माधव नेपालबीच आज सिंहदरबारमा भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार भेटवार्ता भएको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शीर्ष ३ जना नेताबीच भेटवार्ता भएको हो । भेटका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको अध्यक्ष ओलीले बताउनुभयो ।
भेटमा आइतबारबाट संसदमा शुरु हुने आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पनि छलफल भएको थियो । एकीकृत समाजवादीका अध्यक्ष नेपाल बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको प्रतिपक्ष दलहरुको बैठमा सहभागी भएको बारेमा पनि छलफल भएको बताइएको छ ।
सत्तारुढ दल भएर प्रमुख प्रतिपक्ष दलले बोलाएको विपक्षी दलहरुको बैठकमा सहभागी भएको विषयलाई एमालेले गम्भीरताका साथ लिएको हो । छलफलपछि बाहिरिने क्रममा अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिंदै समसामयिक परिस्थितिको बारेमा छलफल भएको बताउनुभयो ।
यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष नेपाल प्रतिपक्ष दलहरुको बैठकमा जाने कुरा आफूलाई जानकारी भएको बताउनुभएको छ । अध्यक्ष नेपाल सहमतिमा नै कांग्रेस सभापति देउवा निवासमा जानुभएको बताउनुभएको उहाँले जानकारी गराउनुभयो ।
सिंहदरबारमा शुक्रबार भएको भएको ३ शीर्ष नेताकोबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।