आईपिएलको अन्तिम खेलमा मुम्बई पराजित, आज चेन्नई र रोयलबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा मुम्बई इन्डियन्स पराजित भएको छ।
वनखडे रंगशाला मुम्बईमा लखनउ सुपर जायन्ट्स र मुम्बईले अन्तिम प्रतिस्पर्धा गरेका हुन्। टस हारेर शुरुमा ब्याटिङको निम्तो पाएको लखनउले ६ विकेटको क्षतिमा २ सय १४ रन बनाएको थियो। लखनउका लागि निकोलस पुरन र कप्तान केएल राहुलले अर्धशतक बनाएका छन्।
पुरनले मात्र २९ बलमा ५ चौका र ८ छक्काको मद्दतमा ७५ रन बनाएका थिए । कप्तान राहुलले सम्हालिएर खेल्दै ४१ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५५ रन बनाएका छन्। मार्कश स्टोनिसले २८ रन बनाउँदा आयुष बदोन नटआउट २२ रनमा समेटिएका थिए।
प्लेअफ पुग्न लखनउले ठूलो अन्तरको जित र अन्य खेलमा भर पर्नुपर्ने आवश्यक थियो। १८ रनको जितले लखनउलाई समेत प्लेअफको ढोका बन्द गरिदिएको छ। समान १४ अंकसहित रन रेटको आधारमा माथि रहेको चेन्नईले एक खेल खेल्न बाँकी रहेको हो ।
अन्तिम खेल खेलिसकेको दिल्ली समेत रनरेटको आधारमा लखनउभन्दा माथि रहेको छ। प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो चेन्नई र रोयल च्यालेन्जर्स बैंलोरबीच शनिबार हुने खेलले निर्धारण गर्ने भएको हो । चेन्नईले जित निकाले १६ अंकसहित प्लेअफ पुग्ने भएको छ । फराकिलो अन्तरमा पराजित भएमा रनरेटको आधारमा प्लेअफ पुग्ने टिमको टुंगो लाग्ने भएको हो ।
यसअघि नै कोलकता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद प्लेअफमा पुगिसकेका छन्।