७२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस आज विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । ७२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस बुधबार विविध कार्यक्रम गरेर मनाइँदैछ ।
सरकारले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो पटक मानवपाइला टेकेको दिन मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउने गरेको हो । सन् १९५३ मे २९ तारिखका दिन नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला टेकेका थिए ।
सगरमाथाको चुचुरोमा मानव पाइला टेकिएको बुधबार ७१ औं वर्ष पूरा भएर ७२ औं वर्षमा प्रवेश गरेको छ । नेपालमा सन् २००८ देखि मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउन थालिएको हो । सगरमाथा दिवसको यस वर्षको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा: नेपालको पहिचान र गौरव’ भन्ने तय गरेको छ ।
मूल समारोह समितिले बुधबार औपचारिक कार्यक्रममा कीर्तिमानी आरोही तथा सहयोगीलाई सम्मान गर्दैछ । सगरमाथा आरोहणका यो अवधिमा हालसम्म ८ हजार भन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । पर्यटन विभागका अनुसार यो याममा सगरमाथा आरोहणका लागि ४ सय २४ जनाले अनुमति लिएकामा आरोही र सहयोगी गरी ६ सय भन्दा बढीले सगरमाथा आरोहण गरेका हुन्
कामीरिता शेर्पाले ३० औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् । त्यस्तै, यो एकै याममा ३ पटक आरोहण गरेर आरोही पूर्णिमा श्रेष्ठले नयाँ कीर्तिमान बनाएकी हुन् । श्रेष्ठकै नाममा करिब १५ घण्टामा सगरमाथा आरोहण गरेर पहिलो महिला आरोहीको विश्व कीर्तिमान बनेको छ ।