विश्वकप अगाडिको दोस्रो अभ्यास खेलमा आज नेपालले अमेरिकासँग सामना गर्दै
काठमाडौं । आईसीसी टी-२० विश्वकप अगाडिको दोस्रो औपचारिक अभ्यास खेलमा बिहीबार नेपालले अमेरिकासँग सामना गर्ने भएको छ ।
नेपाल र अमेरिकाबीचको खेल बिहीबार राति सवाँ ९ बजे अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा हुने भएको हो । पहिलो औपचारिक अभ्यास खेलमा क्यानाडासँग ६३ रनले पराजित भएको नेपाल अमेरिकामाथि जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिने भएको छ ।
अमेरिका र नेपालबीच भएका पछिल्ला ५ खेलमा नेपालले ४ खेल गुमाएको हो। विश्वकप आयोजक समेत रहेको अमेरिकासँगको बिहीबारको खेललाई महत्वका साथ हेरिएको छ।
यसअघि सोमबार राति अमेरिका डालास मैदानमै टस जितेर क्यानाडालाई ब्याटिङको निम्तो दिएको नेपालले कमजोर प्रदर्शन गरेको थियो। क्यानाडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १ सय २० रन बनाएर अलआउट भएको हो।