हावाहुरीका कारण गोरखा र पर्सामा १०७ वर्षीय वृद्धसहित २ जनाको मृत्यु
काठमाडौं । बिहीबार साँझ आएको हावाहुरीमा परी गोरखा र पर्सामा २ जनाको मृत्यु भएको छ।
हावाहुरीका कारण रुख ढल्दा गोरखाको शहिदलखन गाउँपालिका–४ चैलिसेका ५० वर्षीय गिरबहादुर राना मगर मृत्यु भएको वडा अध्यक्ष यम बहादुर थापाले जानकारी दिनुभएको हो। गाउँबाट घर फर्कने क्रममा बाटोमा काभ्रोको रुख ढलेर लाग्दा उनको मृत्यु भएको अध्यक्ष थापाको भनाइ छ। हावाहुरीका कारण २ दर्जन भन्दा धेरै घरका छाना उडाएको र खेतीबालीमा समेत धेरै क्षति पुगेको हो।
त्यस्तै, वर्षासँगै आएको हावाहुरीका कारण पर्सामा पनि बिहीबार साँझ नै एक जना वृद्धको मृत्यु भएको छ। पर्साको विन्दबासिनी गाँउपालिका–२ गर्दौलमा हावाहुरीले उडाएर ल्याएको जस्ता पाताले काटेर १ सय ७ वर्षीय वृद्ध गुदेरी साहको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको हो ।