टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग ७६ रनले पराजित
काठमाडौं । टी-२० सिरिजको बुधबार भएको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित भएको छ ।
वेस्ट इन्डिज ‘ए’ ले बुधबार नेपाललाई ७६ रनले पराजित गरेको हो । वेस्ट इन्डिज ‘ए’ ले दिएको २ सय २८ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १ सय ५१ रन बनाएको थियो । नेपालका लागि लोकेश बमले २८, कुशल मल्लले २०, करण केसीले २८, बिनोद भण्डारीले १९, अनिल शाहले १४, आरिफ सेखले ३, गुलशन झाले ६, दिपेन्द्र सिंह ऐरीले ७ रन बनाएका थिए ।
त्यसैगरी वेस्ट इन्डिज ‘ए’ का बलर हेडेन वाल्शले ३ विकेट लिए भने गुडाकेश मोतीले २ तथा फाबियन एलेन, म्याथुज फोर्ड र ओबेड म्याककोयले एक-एक विकेट लिएका हुन् । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनाएको हो ।
वेस्ट इन्डिज ‘ए’ का लागि जोन्सन चार्ल्सले सर्वाधिक अविजित १ सय १९ रन बनाए भने आन्द्रे फ्लेचरले ५३ रन बनाएका छन् । त्यस्तै,फाबियन एलेनले १९ र एलिक अथानाजले १७ रन बनाएका थिए । त्यस्तै, किमो पाउलले १३ रन बनाएका हुन्।
त्यसैगरी नेपाली बलर करण केसी र सागर ढकालले एक-एक विकेट लिएका छन् । वेस्ट इन्डिज ‘ए’ ले यो जितपछि ५ खेलको सिरिजमा २-१ को अग्रता बनाएको हो । अब सिरिजको चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुने भएको छ ।