तेस्रो लगानी सम्मेलन आजदेखि शुरू, १५० वटा परियोजना प्रस्तुत गरिंदै
काठमाडौं । तेस्रो लगानी सम्मेलन आइतबारदेखि काठमाडौंमा शुरु हुँदैछ ।
सोही सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले होटल सोल्टीमा उद्घाटन गर्ने कार्यक्रम रहेको हो । लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर १ हजार ६ सय जना भन्दा बढीको सहभागिता रहने जनाइएको छ । लगानी बोर्डका अनुसार सम्मेलनका लागि २ हजार ४ सय भन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको हो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् ।
सम्मेलनमा नेपालका ३ सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ । त्यसैगरी, चीनका २ सय ६५, भारतका १ सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बंगलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुने भएका हुन्। दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका ९–९ जना सम्मेलनमा सहभागी हुन लागेको लगानी बोर्डले जनाएको छ ।
पाकिस्तानबाट ८, सिंगापुरबाट ६, कतार र घानाबाट ५-५, साउदी अरब, फ्रान्स र बहराइनबाट ४-४ र जनाको सहभागिता रहने भएका हुन् ।लगानीका निम्ति प्रस्तुत गरिने परियोजना सम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने भएको छ । २० वटा परियोजनाका लागि भने आशयपत्र आह्वान गरिने भएको हो । सम्मेलनको पहिलो दिन आइतबार २ वटा विशेष सत्र सञ्चालन हुने भएका छन् । जसमा ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’ सम्बन्धी २ वटा सत्र रहेका हुन् ।
दोस्रो तथा अन्तिम दिन ३ वटा समानान्तर सत्र (प्यारालल सेसन) र प्रत्येक सत्रमा ३ वटा समूहगत छलफल (प्यानल डिस्कसन) हुने बोर्डको कार्यालयले जनाएको छ । दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नवीनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी ३ वटा प्यानलमा छलफल हुने भएको हो । त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन क्षेत्रमा लगानी र नेपालको निर्यात प्रवर्द्धनका लागि कृषि प्रशोधनमा आधारित आपूर्ति शृंखलाको बारेमा छलफल हुने भएको छ ।
तेस्रो सत्रमा उत्पादन क्षेत्र नवप्रवर्तन विकास, लगानी तथा व्यवसायिक सहजीकरण र सूचना प्रविधि क्षेत्रबारे छलफल गरिने जनाइएको हो ।लगानी सम्मेलनमा १ सय ५० वटा परियोजना प्रस्तुत गरिने भएको छ । सोही सम्मेलनमा उर्जा क्षेत्रका सबै भन्दा बढी ३१, यातायात क्षेत्रका १९, कृषिका १४, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३ र उत्पादन क्षेत्रका ५ परियोजना रहेका हुन् ।
यसैगरी, औद्योगिक पूर्वाधार तथा व्यापारसम्बन्धी ७, स्वास्थ्य तथा शिक्षा क्षेत्रका ३, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका २, पानी आपूर्तिका ४ र सहरी विकास क्षेत्रका ६ वटा परियोजना प्रस्तुत गरिने भएको छ । निजी क्षेत्रबाट प्रस्तुत ३१ वटा परियोजना पनि बाह्य लगानीका लागि समावेश गरिएको हो।