टी-२० सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ विरूद्ध नेपालको शानदार जित
काठमाडौं । टी-२० सिरिजको पहिलो खेलमा वेस्ट इन्डिज 'ए' विरुद्ध शनिबार नेपालले शानदार जित हाशिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज 'ए' लाई ४ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २ सय ५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको छ । नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार १ सय १२ रनको शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका हुन् ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज 'ए' ले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाएका छन् । एलिक अथानाजेले भने ४७ रन बनाएका हुन् । त्यस्तै, किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।
त्यसैगरी नेपालका बलरकमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक-एक विकेट लिएका छन् । सोही जितपछि नेपाल पाँचौं खेलको सिरिजमा १-० ले अगाडि भएको हो । सिरिजको दोस्रो खेल अब आइतबार हुने भएको छ । तेस्रो खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने भएको हो ।