जयकुमारनाथ शाह अन्तर स्कुल क्रिकेट प्रतियोगिता भोलिदेखि शुरू
काठमाडौं । यहि वैशाख १९ गते बुधबारदेखि जयकुमारनाथ शाह मेमोरियल यू–१६ २०-२० अन्तर स्कुल क्रिकेट प्रतियोगिता शुरु हुने भएको छ ।
काठमाडौं जिल्ला क्रिकट संघको आयोजनामा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो। नेपाल क्रिकेट संघ (क्यान) का पूर्वअध्यक्ष शाहको नाममा सोही प्रतियोगिता हुन लागेको हो । आयोजक संघका अध्यक्ष दिवाकर घलेले ग्रास रुटदेखि नै क्रिकेटको विकास गर्ने उद्देश्य अनुरूप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको बताएका छन् ।
वैशाख ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १६ टिम सहभागी हुने भएका हुन् । लिग र नकआउट आधारमा हुने प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने भएका हुन् ।
सोही प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट ब्याटर, बलर र उदयमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।