आईपिएलमा राजस्थान रोयल्सको शानदार जित, आज २ खेल हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबार राति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्समाथि शानदार जित निकालेको छ।
टस हारेर पहिलो ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९६ रन बनाएको हो । १ सय ९७ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ बल बाँकी हुँदै ३ विकेटको क्षतिमा १ सय ९९ रन बनाएर ७ विकेटको शानदार जित निकालेको हो।
राजस्थानको जितका लागि कप्तान सञ्जु सैमसनले नटआउट ७१ रन बनाएका छन्। उनले ३३ बलको सामना गर्दै ७ चौका र ४ छक्का प्रहार गरेका थिए। उसका लागि ध्रुव जुरेललेसमेत नटआउट अर्धशतक बनाएका हुन्। उनले ३४ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५२ रन बनाएका छन्।
जोस बटलर ३४, यशस्वी जैसवाल २४ रनमा आउट हुँदा रियान परागले १४ रन जोडेका थिए । लखनउका लागि एस ठाकुर, मार्कस स्टोनिस र अमित मिश्राले एक-एक विकेट हात पारेका छन्।
शुरुमा ब्याटिङ गरेको लखनउका कप्तान केएल राहुल र दीपक हुड्डाले अर्धशत बनाएका थिए। राहुलले सर्वाधिक ७६ रन बनाएका छन् । ४८ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरेका हुन्। दीपकले ३१ बलमा सात चौकासहित ५० रन बनाए। निकोलस पुरन ११ रनमा आउट हुँदा आयुष बदोनी १८ र क्रुनाल पाण्ड्या १५ रनमा नटआउट रहेका छन्।
राजस्थानका सन्दीप शर्माले सर्वाधिक २ विकेट लिएका थिए । ट्रेन्ट बोल्ड, आवेश खान र रवि अश्विनले एक-एक विकेट हात पारेका हुन्। सोही जितसँगै राजस्थान १६ अंकका साथ शीर्ष स्थानमा रहेको छ। लखनउ १० अंकसहित चौथो स्थानमा रहेको हो ।
आईपिएल अन्तर्गत आइतबार २ खेल हुने भएका छन् । पहिलो खेल आइतबार दिउँसो पौने ४ बजे गुजरात टाइटन र रोयल च्यालेन्र्ज बैंग्लोरबीच हुने भएको हो । दोस्रो खेल चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच आइतबार राति पौने ८ बजेदेखि शुरु हुने भएको छ ।