आईपिएलमा पञ्जाब किंग्सको ऐतिहासिक जित, आज दिल्ली र मुम्बईबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्समाथि पञ्जाब किंग्सले शानदार जित निकालेको छ।
२ सय ६२ रनको लक्ष्य पछ्याएको पञ्जाबले ८ बल बाँकी हुँदा कलकाताविरुद्ध २ विकेट मात्र गुमाएर ८ विकेटको ऐतिहासिक जित निकालेको हो। इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको छ। जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १८ दशमलव ४ बलमा मात्र २ विकेटको क्षतिमा २ सय ६२ रन बनाउँदै लक्ष्य भेट्टाएको हो।
पञ्जाबको जितका लागि जोनी बेयरस्टोले नटआउट १ सय ८ रन बनाएका छन् । मात्र ४८ बल खेलेका उनले ८ चौका र ९ छक्का प्रहार गरेका हुन्। शशांक सिंहले नटआउट अर्धशतक पूरा गरेका छन् । २८ बल खेलेका उनले ८ छक्का र २ चौकाको मद्दतमा ६८ रन बनाएका हुन्। उसका लागि अर्का ओपनर प्रभसिमरन सिंहलेसमेत अर्धशतक प्रहार गरेका थिए ।
२० बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गर्दै ५४ रन बनाएका हुन्। उनलाई कलकाताका सुनिल नारायणले रन आउट गरेका थिए। पञ्जाबका लागि १६ बल खेलेका रिली रोसोउले भने २६ रन बनाएका छन्। पञ्जाबविरुद्ध बलर नचलेको कलकाताका लागि मात्र एक विकेट सुनिल नारायणले लिएका थिए।
शुरुमा ब्याटिङ गरेको कलकाताका लागि फिल साल्ट र सुनिल नारायणले शानदार अधर्शतक बनाएका छन् । ३७ बल खेलेका साल्टले ६ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ७५ रन बनाएका थिए। नारायणले ३२ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन जोडेका हुन्। पहिलो विकेटका लागि उनीहरूले १३८ रनको साझेदारी गरेका थिए। वेंकटेश अय्यर ३९, कप्तान श्रेयस अय्यर २८ र आन्द्रे रसेल २४ रनमा आउट हुँदा रमनदीप सिंह ६ रनमा नटआउट भएका हुन्।
पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक २ विकेट लिएका थिए। श्याम करन, हर्ष पटेल र राहुल चाहरले एकएक विकेट हात पारेका हुन्। सोही जितमा पञ्जाबले आईपिएलमै केही ऐतिहासिक रेकर्ड बनाएको छ । सोही खेलमा ठूलो रनको चुनौती ८ बल खेल्न बाँकी हुँदै पञ्जाबले पूरा गरेर रेकर्ड बनाएको हो । टि–२० को खेलमा ५ सय २३ रन बनेको छ । जोनी बेयरस्टोले नटआउट ४८ बलमा १०८ रन बनाएर ऐतिहासिक जितको रेकर्डसमेत बनाएका हुन् ।
सोही खेलमा पराजित भएसँगै कलकाता १० अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ। पञ्जाब भने ६ अंकसहित आठौं स्थानमा रहेको हो । आईपिएल अन्तर्गत शनिबार दिल्ली क्यापिटल्स र मुम्बई इन्डियनबीच प्रतिस्पर्धा हुने भएका छन्। सोही खेल शनिबार राति पौने ८ बजेदेखि शुरु हुने भएको हो ।