जिपी कोइराला स्मृति श्रमिक कप ब्याटमिन्टन प्रतियोगिता आजदेखि
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा जिपी कोइराला स्मृति श्रमिक कप ब्याटमिन्टन प्रतियोगिता आजदेखि हुन लागेको छ ।
नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेश समितिको आयोजनामा ट्रेड युनियनका संस्थापक स्वर्गीय कोइरालाको सम्झनामा श्रमिक कप ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । युनियनका बागमती प्रदेश अध्यक्ष गणेश भट्टराईले ब्याटमिन्टन प्रतियोगिता केन्द्र, विभिन्न प्रदेश र बागमती प्रदेशभित्रका १३ जिल्लाका दुई सय ३२ खेलाडीको सहभागिता हुने राससलाई जानकारी दिए । प्रतियोगितामा एक सय १६ पुरुष र एक सय १६ महिला रहनेछन् ।
युनियनले नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशबाट पाँच पुरुष र पाँच महिला, बाँकी छ प्रदेशबाट प्रत्येक प्रदेशबाट दुई पुरुष र दुई महिला, केन्द्रीय समितिबाट पाँच पुरुष र पाँच महिला, पूर्व पदाधिकारीबाट पाँच पुरुष र पाँच महिला तथा बागमती प्रदेशका काठमाडौँ, भक्तपुर र ललितपुरबाट प्रत्येक जिल्लाबाट पाँच पुरुष तथा पाँच महिलाको सहभागिता रहनेछ ।
यस्तै बागमती प्रदेशका बाँकी १० जिल्लाबाट प्रत्येक जिल्लाबाट दुई पुरुष र दुई महिला तथा आबद्ध २६ संस्थाबाट दुई पुरुष र दुई महिला खेलाडीको सहभागिता रहने प्रतियोगिताका संयोजक प्रजापति दाहालले जानकारी दिए । प्रतियोगितामा विभिन्न सात विधा बनाएर प्रतिस्पर्धा गरिने आयोजकले जनाएको छ ।
एकलतर्फ प्रथम, द्धितीय र तृतीयलाई क्रमशः रु १० हजार, रु छ हजार र रु चार हजारसहित मेडल तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ । डबलतर्फ प्रथम जोडीलाई रु १६ हजार, दोस्रोलाई रु आठ हजार र तेस्रोलाई चार हजार, मेडल तथा प्रमाणपत्र वितरण गरिने दाहालले बताए । उक्त प्रतियोगितामा जम्मा पुरस्कार राशी रु दुई लाख १५ हजार रहेको आयोजकले जनाएको छ ।