सिमराकी तीन वर्षीया बालिका हत्या प्रकरणमा चौधरी २० हजार धरौटीमा रिहा हुने
सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या प्रकरणमा मुख्य प्रतिवादीका रूपमा अभियोग लगाइएका प्रोग्रेश भन्ने पुरग्रेश चौधरीलाई बारा जिल्ला अदालतले २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
बारा जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले बिहीबार थुनछेक आदेश जारी गर्दै चौधरीसँग २० हजार रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत माग गरेको हो। धरौटी बुझाएपछि उनलाई मुद्दाको पुर्पक्षका लागि तारिखमा राख्ने आदेश भएको छ। धरौटी दिन नसके कानुनबमोजिम थुनामा राख्न अदालतले आदेश दिएको छ।
अदालतले तत्काल प्राप्त प्रमाणबाट चौधरी अभियोगमा संलग्न छैनन् भन्न सकिने अवस्था नरहेको ठहर गरेको छ। जाहेरी, घटनास्थलसम्बन्धी कागजात, विभिन्न व्यक्तिको घटनाविवरण तथा बालिकाको शव बरामद भएको घरमा चौधरीले विद्युत् लाइन लगाएको स्वीकार गरेको विषयलाई अदालतले प्रमाणका रूपमा लिएको छ।
तर, उपलब्ध प्रमाणका आधारमा तत्काल उनलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको अदालतको ठहर छ। थप प्रमाण बुझ्दै जाँदा कानुनबमोजिम हुने आदेशमा उल्लेख छ।
प्रकरणमा अभियोग लागेका इन्द्रजीत चौधरी, बबिता चौधरी, ममता चौधरी, पुष्पा चौधरी, नविन वि.क., टेकबहादुर थापा मगर, शेष हस्मुदिन आलम, सविता चौधरी र बिन्दु देवी चौधरीलाई भने अदालतले साधारण तारिखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ।
उनीहरूले आरोपित कसूरमा इन्कार गर्दै बयान दिएका र मुख्य कसूरमा सहयोगी रहेको वा प्रमाण लोप गरेको पुष्टि हुने तत्काल प्राप्त पर्याप्त प्रमाण नदेखिएको भन्दै धरौटीसमेत नमागी साधारण तारिखमा राख्ने आदेश भएको अदालतले जनाएको छ।
बालिकाको परिवारले भने उनीहरूसमेतको मिलेमतोमा बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएर जबरजस्ती करणीपछि हत्या गरिएको आरोप लगाउँदै जाहेरी दिएको थियो।
प्रकरणमा फरार रहेका प्रतिवादीहरूको हकमा कानुनबमोजिम म्याद जारी गरी आवश्यक कारबाही अघि बढाउनसमेत अदालतले आदेश दिएको छ।