भारतविरूद्ध नेपालले गुमायो पहिलो विकेट
एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको भारतविरुद्धको खेलमा मंगलबार नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा दीपक बोहरालाई गुमाएको हो । उनी ११ बलमा एक रन बनाउँदै पेभेलियन फर्किए । उनको विकेट भारतीय बलर राज लिम्बानीले लिए । ४.१ ओभरमा उनी आउट हुँदा नेपालले नौ रन बनाएको छ ।
भारतले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । समूह ‘ए’ अन्तर्गतको उक्त खेल यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा भइरहेको छ । समूहगत चरणको अघिल्ला दुबै खेलमा पराजित भएको नेपाली टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना भने प्राविधिक रुपमा मात्र बाँकी छ ।
नेपाली टोली आफ्नो पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपाललाई अफगानिस्तानले ७३ रनले हराएको थियो । लगातार दुई खेलमा जित हात पार्दै चार अंक जोडेको पाकिस्तान लगभग प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ ।
समूह ‘ए’ मा रहेका चारवटै टोलीले दुई—दुई खेलिसक्दा पाकिस्तान चार अंकसहित पहिलो, भारत दुई अंकसहित दोस्रो, अफगानिस्तान दुई अंकसहित तेस्रो र नेपाल शून्य अंकसहित चौथो स्थानमा छन् । नेट रन रेट भने पाकिस्तानको १.५६३, भारतको ०.४५४, अफगानिस्तानको ०.२०३ र नेपालको-२.०२४ रहेको छ ।
प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपालले भारतलाई निकै ठूलोअन्तरले हराउनु पर्ने हुन्छ । त्यसपछि अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई ठूलोअन्तरले पराजित गर्नुपर्ने हुन्छ । मंगलबारको खेलसँगै समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्ने दुबै टोलीको टुङ्गो लाग्नेछ ।