मकवानपुरमा पहिरो : खहरेको हुन्न भर !
बागमती खोलाले मकवानपुर, ललितपुर, काभ्रे र सिन्धुलीको सिमाना छुट्याउँछ । काठमाडौँदेखि बगेको बागमती ललितपुर हुँदै मकवानपुर, काभ्रे र सिन्धुलीबाट तराई पस्छ ।
बागमतीमा ललितपुरबाट स्थानीय खहरे र खोल्सीहरू जोडिने गर्छन् । सामान्य वेगको बागमती ललितपुर र मकवानपुरको सिमाना काट्दासम्म गति बढ्न थाल्छ । मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकाको सिमानामा रहेको बुगवाबाट हेर्दा बागमतीको वेग निकै बढी देखिन्छ । बगुवाबाट पूर्व दक्षिण बगेको उक्त खोलाले काभ्रेको सिमाना भेट्दासम्म साही दिशामा बग्ने गर्छ ।
काभ्रेको खानीखोला गाउँपालिकाको सिमानामा पर्छ मकवानपुरको बागमती गाउँपालिका । दुवै गाउँलाई त्यही बागमतीले दक्षिण तर्फ बगेर छुट्याउँछ । खानीखोला वडा नम्बर–५ को सिक्रे दोभानमा केही बस्ती छ । जुन बागमतीको कटानको जोखिममा छन् ।
त्यसैको विपरीत दिशामा पर्छ बागमती गाउँपालिका वडा नम्बर–५ सिक्रे दोभान । प्रहरी चौकी भोर्लेनीबाट करिब ३ किलोमिटर उत्तरमा पर्छ सिक्रे दोभान गाउँ । कच्ची सडकको पहुँच पुगेको सो गाउँमा वर्षायाममा आवतजावत गर्न समेत समस्या हुने गरेको छ ।
बागमती खोलाको कटानको जोखिम न्यून रहेको उक्त बस्तीबाटै बग्छ सिक्रे खोल्सी । खहरेको भर हुन्न भन्ने बुढापाकाको भनाई मंगलबार सत्य साबित बन्यो । सामान्य खोल्सीमा बाढीसँगै आएको पहिरोले एक घर बगाउँदा एकको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन् ।
अविरल वर्षाको कारण मंगलबार बिहान ४ बजे बागमती–५ सिक्रे दोभानमा खसेको भल सहितको पहिरोले स्थानीय अक्कल बहादुर स्याङ्तानको घर बगाएको थियो । पहिरोमा परी स्यान्तानकी श्रीमती ५५ वर्षकी सन्तमाया स्याङ्तानलाई स्थानीयले उद्धार गरी मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । उनको बिहान ८ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।