लुम्बिनी प्रदेशका मुख्य सहरमा छाडा चौपायाको बिगबिगी, व्यवस्थापनमा छैन ध्यान
लुम्बिनी प्रदेशका ठुला सहर र राजमार्ग छेउछाउमा छाडा चौपायाको बिगबिगी छ । प्रदेशका सहरहरू नेपालगन्ज, कोहलपुर, तुलसीपुर उपमहानगर, तौलिहवा, बुटवल उपमहानगरपालिका, भैरहवा, परासी बजारमा छाडा चौपाया नियन्त्रणमा सकस भइरहेको हो ।
राजमार्गमा छाडा चौपायाका कारण दुर्घटनाको जोमिख बढ्ने गर्दछ । बुटवल उपमहानगरको सडक, पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा सडकमै लाम लागेका छाडा चौपायाहरू सवारी साधन नै अवरुद्ध हुने गरी बस्ने गरेका छन् ।
बुटवलका सडकमा छाडा चौपाया नियन्त्रणमा स्थानीय सरकार उदासीन भएको भन्दै धेरैले सामाजिक सञ्जालबाटै आक्रोश पोख्ने गरेका छन् ।
बुटवलका युवा अभियन्ता देवराज पोखरेलले स्थानीय सरकारले गौशाला बनाउने बाचा पटकपटक गरे पनि अझैसम्म पूरा नगर्दा समस्या आएको रातोपाटीलाई बताए । उनले छाडा चौपायाको व्यवस्थापन स्थानीय सरकार एक्लैले गर्न नसक्ने हो भने प्रदेश सरकारसँग सहयोग माग गर्नुपर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेशको ठुलो सहर नेपालगन्जमा पनि छाडा चौपायाको समस्या विकराल छ । अन्यत्रका सडकमा छाडा गाईगोरुले दुःख दिने गरे पनि यहाँ गाईगोरुका अतिरिक्त गधा, घोडासमेत सडकमै देखिन्छन् ।
उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट छाडा चौपाया नियन्त्रणको प्रयास गरे पनि दीर्घकालीन रूपमा समाधान गर्न नसकिएको बताउँछन् । उनले सडकबाट छाडा चौपाया जति धपाए पनि २-४ पछि फेरि आउने गरेको बताए ।
एउटा पालिकाले मात्रै गरेर यो समस्या समाधान नहुने उपमहानगर प्रमुख विष्टको भनाइ छ । यसका लागि सामूहिक प्रयत्न चाहिने बताउँदै उनले अब प्रदेश सरकारले यसको अगुवाइ गर्नुपर्ने बताए ।
नगरप्रमुख विष्टले बाँकेदेखि दाङसम्म एउटा र कपिलवस्तुदेखि नवलपरासीसम्मका लागि एउटा गरी २ वटा प्रदेश स्तरकै गौ संरक्षण केन्द्र वा गौचरण बनाएमा त्यसले दिगो समाधान दिने प्रस्ट पारे ।