बागमतीको मन्त्रालय विभाजनबारे भएन सहमति, दलहरु आ–आफ्नै अडानमा
बागमती प्रदेशका बिना विभागीय मन्त्री रामकृष्ण चित्रकारको जिम्मेवारीका विषयमा सत्ता गठबन्धनका दलहरुबीच सहमति जुट्न सकेको छैन । विभागीय जिम्मेवारी तोक्ने विषयमा बिहीबार बसेको सत्ता गठबन्धनका दलहरुबीचको छलफल औपचारिकतामा मात्र सीमित बन्दा चित्रकारको विभागबारे निर्णय हुन सकेन ।
गत आइतबार बसेको मन्त्रिपरिषद बैठकमा भएको अनौपचारिक छलफलमा साउन १८ गते बिहीबार मन्त्री चित्रकारको जिम्मेवारी तोक्ने र सोही अनुसार मन्त्रालय विभाजन गर्नेबारे सैद्धान्तिक सहमति भए पनि कुन मन्त्रालय विभाजन गर्ने भन्नेबारे टुङ्गो लाग्न नसकेको हो ।
मन्त्रालय विभाजनका लागि काठमाडौंमा बिहीबार गठबन्धनका दलहरुबीच छलफल भए पनि निष्कर्ष निस्कन सकेन । बैठकमा सहभागी एक नेताका अनुसार मन्त्री चित्रकारको जिम्मेवारीको विषयमा बिहीबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पार्टी र गठबन्धनका शीर्ष नेतासहित कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता र मन्त्री चित्रकारसँग छुट्टाछुट्टै छलफल गरेका थिए । उक्त छलफल बिना निष्कर्ष टुङ्गिएको थियो ।
छलफलका क्रममा गठबन्धनका दुई प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आ–आफ्नै अडान राखेका छन् । कांग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन गरी शहरी विकास मन्त्रालय बनाउनुपर्ने अडान कायमै राखेको छ भने माओवादी केन्द्रले कांग्रेसकै भागमा रहेको मन्त्रालय विभाजन गरी चित्रकारको जिम्मेवारी तोक्नुपर्ने अडान राखेको हो ।
माओवादी केन्द्रले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी उद्योग मन्त्रालय कायम गर्ने प्रस्ताव गरेको छ । दलहरुले आ–आफ्नो अडान कायम राखेपछि छलफमा प्रदेशको मन्त्रालयहरु पुनःसंरचनाको प्रस्ताव समेत अघि सारिएको थियो । तर, कुनै पनि प्रस्तावमा सहमति जुट्न नसकेको बैठकमा सहभागी एक नेताले बताए ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता समेत रहेका मन्त्री चित्रकार ७५ दिनदेखि विभागविहीन छन् । गत जेठ ७ मा मन्त्री बनेका चित्रकारले हालसम्म विभागीय जिम्मेवारी नपाएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ ।
गठबन्धनबीच शुक्रबार पनि छलफल हुने जनाइएको छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पश्चात मुख्यमन्त्री जम्कट्टेलले गठबन्धनका दलहरुलाई छलफलका लागि बोलाउने भनिएको छ ।