चेक गणतन्त्रकी वोन्ड्रोसोभाले जितिन् विम्बल्डन टेनिसको उपाधि
चेक गणतन्त्रकी मार्केटा वोन्ड्रोसोभाले विम्बल्डन टेनिसको महिला एकल तर्फको उपाधि जितेकी छन् ।
उनले शनिबार ट्युनिसियाकी ओन्स जाबेउरलाई हराएर उपाधि जितेकी हुन् । उनको यो पहिलो ग्राण्डस्लाम टुर्नामेन्ट उपाधि हो ।
शनिबार लण्डनमा भएको फाइनल खेलमा उनले जाबेउरलाई सिधा सेटमा ६(४ र ६(४ले हराइन् ।
विम्बल्डनको महिला एकलतर्फको उपाधि जित्ने उनी चेक गणतन्त्रको तेस्रो खेलाडी हुन् । साथै विम्बल्डनको इतिहासमा महिला एकलतर्फ च्याम्पिन बन्ने उनी पहिलो गैरवरियता खेलाडीसमेत बनिन् ।
सेमिफाइनलमा जाबेउरले अघिल्लो पटककी विजेता इलिना रिबाकिनालाई हराएर फाइनल पुगेकी थिइन् । यसैगरी वोन्ड्रोसोभाले एलिना स्वितलिनालाई ६(३ र ६(३ को सेटमा सेमिफाइनलको खेल जितेर फाइनल पुगेकी थिइन् ।