युनिलिभर नेपालद्वारा बाढीपीडितका लागि ६ करोड बराबरको सहयोग
युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि करिब ६ करोड रुपैयाँ बराबरको सहयोग गरेको छ। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गरेको हो। सहयोग रकमको चेक कम्पनीका प्रतिनिधिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।
यसबाहेक कम्पनीले राहतस्वरूप करिब २६ टन अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्री उपलब्ध गराएको जनाएको छ। ती सामग्रीको मूल्य करिब १ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
यससँगै नगद ५ करोड र करिब १ करोड रुपैयाँ बराबरका स्वास्थ्य तथा सरसफाइ सामग्री गरी युनिलिभर नेपालको कुल योगदान करिब ६ करोड रुपैयाँ पुगेको छ।
बाढीपछि प्रदूषण तथा संक्रमणको जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रभावित समुदायमा व्यक्तिगत तथा वातावरणीय सरसफाइ कायम राख्न सहयोग गर्ने उद्देश्यले सामग्री उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिनलगायतका स्वास्थ्य तथा सरसफाइ सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ।
युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले विपद्को समयमा प्रभावित समुदायको साथमा उभिनु महत्वपूर्ण रहेको बताए। राहत तथा पुनर्स्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त योगदान गरेको उनको भनाइ छ।