गाउँपालिका कार्यालयमा आगलागी गराएको आरोपमा दुई जना पक्राउ
हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा भएको आगलागी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा ताँजाकोट गाउँपालिका–४ गल्लाबाडा निवासी करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र सोही गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाल रहेका छन्।
भदौ ७ गते राति करिब १ बजे ताँजाकोट गाउँपालिका–३ टाकुरेस्थित गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो। घटनाबारे जानकारी प्राप्त भएलगत्तै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा जैसी र ढकालको संलग्नता पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।