अरिङ्गाले फेदीको पहिरोमा परी एक जनाकाे मृत्यु
राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा गएको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङको तुलसीपुरस्थित ग्रेट अरनीको इङ्लिस सेकेन्डरी स्कुलमा कक्षा १२ मा अध्ययनरत मदन पुन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार बिदाको दिन सल्यानको त्रिवेणी गाउँपालिका–३ स्थित घर जाने क्रममा सोमबार राति पहिरोमा परी पुन गम्भीर घाइते भएका थिए। पहिरोमा परी घाइते भएका पुनलाई उपचारका लागि सुर्खेत लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही पहिरोमा परी त्रिवेणी गाउँपालिका–३ कै १८ वर्षीय सुनिल थापा पनि घाइते भएका छन्। उनको बायाँ हात र खुट्टामा चोट लागेको छ। थापाको श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।