एन्टी डोपिङ सम्बन्धी कक्षा सुरु
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत १९ औं एसियाली खेलकुद सचिवालयको आयोजनामा खेलाडी तथा प्रशिक्षकलाई लक्षित गरी एन्टी डोपिङ कक्षा मंगलबारदेखि सुरु भएको छ । तीनदिने कक्षा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिससमा सुरु भएको हो ।
एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने विभिन्न २९ खेललाई तीन भागमा विभाजन गरी तीन दिनसम्म कक्षा सञ्चालन गरिने छ ।
सहभागीलाई औषधिको प्रयोग, डोपिङको विधि, डोपिङको आवश्यकता, प्रशिक्षणको अवस्थामा रहेका खेलाडीले प्रयोग गरिहेको औषधि, वाडाको नियमलगायतका विषयमा जानकारी गराइने छ ।
दक्षिण एसियाली एन्टी डोपिङ ओर्गनाइजेसनका बोर्ड सदस्य डा. ज्ञानेन्द्र शाह, नेपाल ओलम्पिक कमिटीअन्तर्गत एन्टी डोपिङ कमिटीका संयोजक डा. नविसमान सिंह प्रधान र विज्ञ डा. सुसन वैद्यले सहभागीलाई एन्टी डोपिङ सम्बन्धी जानकारी दिने छन् ।
कार्यक्रमको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गरे । सोही अवसरमा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले १९ औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने विभिन्न २९ खेलका खेलाडी तथा प्रशिक्षकलाई किट्स पनि हस्तान्तरण गरेका थिए । त्यस अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य-सचिव टंकलाल घिसिङलगायतको उपस्थिति रहेको थियो ।
मास्टर्स मिट तथा रेफ्री सेमिनारको उद्घाटन
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले छैटौं मास्टर्स मिट तथा दोश्रो राष्ट्रिय रेफ्री सेमिनारको सोमबार उद्घाटन गरे । नेपाल वादोरियो कराते डो संघको आयोजनामा कार्यक्रम आइतबारदेखि सुरु भएपनि औपचारिक उद्घाटन भने सोमबार गरिएको हो ।
मास्टर्स मिटमा विभिन्न ५ प्रदेशका २ सय ५० जनाको सहभागिता रहेको नेपाल कराते महासंघका वरिष्ठ उपाधयक्ष समेत रहेका वादोरियोका प्रमुख प्रशिक्षक हरिशरण केसीले जनाएका छन् । पहिलोदेखि पाँचौं डानसम्मका मास्टर्स मिटमा सहभागी छन् । रेफ्री सेमिनारमा पनि ५ प्रदेशका ५० जना सहभागी छन् । कार्यक्रम मंगलबार सम्पन्न हुनेछ ।
बुधाबार वादोरियो कराते संघको साधारण सभा तथा निर्वाचन पनि काठमाडौंमा हुँदैछ । साधारण सभाका लागि प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी रहेको प्रमुख प्रशिक्षक केसीले जानकारी गराए ।
स्वणर्धारी ललितको स्वागत
माल्दिभ्सको मालेमा भएको १३ औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताका स्वणर् विजेता ललित धिमाल सोमबार स्वदेश फर्किएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले ललितलाई सफलताका लागि बधाइ दिदै भने- ‘कठोर परिश्रमका कारण तपाईंले सफलता प्राप्त गर्नु भयो । राष्ट्रिय खेलकुद परिषद्, शारीरिक सुगठनको मात्र नभइ सिंगो देशको शिर उचो बनाउनु भएको छ । सफलतका लागि हार्दिक बधाइ ।’
त्यसअघि नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघ, काठमाडौं जिल्ला शारीरिक सुगठन संघ, विभिन्न क्लबका प्रतिनिधि, खेलाडी, प्रशिक्षक, शुभ चिन्तकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ललितलाई बाजागाजासहित भब्य स्वागत गरेका थिए ।
असार २० देखि २४ गतेसम्म भएको प्रतियोगितामा ललितले पुरुष ७५ केजी तौल समूहमा स्वणर् पदक जितेका हुन् । मिस्टर हिमालय उपाधि विजेता ललितको स्पर्धामा ६ खेलाडी सहभागी थिए । आफ्नो स्पर्धामा स्वणर् जितेका ललितले ओभरअल च्याम्पियन मि. दक्षिण एशियाको उपाधिको लागि पनि प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए । ओभरअलमा भारतीय खेलाडी च्याम्पियन बने ।
दक्षिण एशियाली शारीरिक सुगठनकै दौरान भएको प्रथम माल्दिभ्स अन्तराष्ट्रिय आमन्त्रण शारीरिक सुगठन प्रतियोगितामा भने ललित १० औं स्थानमा रहे । खुला तौलसमूहको प्रतिस्पर्धामा १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । इरानका खेलाडीले बाजी मार्दै ५ हजार अमेरिकी डलर पुरस्कार जिते ।
प्रतियोगिताको अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका उपाध्यक्ष वकिलमान तुलाधर उदास रहेका छन् । प्रतियोगितामा दिनेश श्रेष्ठले निणर्ायकको भूमिका निर्वाह गरेका थिए ।