एमालेले राख्यो बागमती प्रदेश सरकारबाट बाहिरिन शर्त
नेकपा एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिन शर्त राखेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको राजनीतिक समीकरणका आधारमा बागमती प्रदेश सरकारमा हेरफेरको तयारी भइरहँदा सत्तामै रहेको एमालेले राजीनामाका लागि शर्त अघि सारेको हो । बागमती प्रदेशसभा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आफूहरु प्रदेश सरकारबाट हट्न तयार रहेको तर प्रदेशसभा बैठकमा आफ्ना धारणा राखेरमात्र राजीनामा दिने प्रस्ट पारे ।
‘हामी सरकारमै बसिरहने भन्ने होइन,’ उनले भने, ‘हामी राजीनामा दिन तयार छौं तर प्रदेशसभा बैठकमा आफ्नो कुरा राखेर राजीनामा दिन्छौं ।’ नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले भने मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सरकारबाट एमाले हटेपछिमात्र विश्वासको मत लगायतका प्रक्रिया अघि बढाउन दबाब दिएका छन् ।
एमालेले भने प्रदेशसभा बैठकमा आफ्नो कुरा राख्न पाउनुपर्ने, त्यसपछि मात्र सरकारबाट आफू बाहिरिने शर्त राखेको हो । थपलियाले भने, ‘प्रदेशसभा बैठक जहिले बोलाउँछन्, त्यही बेला हामी आफ्ना कुरा राखेर राजीनामा दिन्छौं । प्रदेशसभा बैठक आजै बसेमा आजै राजीनामा दिन तयार छौं ।’