‘नो भोटको सिस्टम ’
काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित कुन्ताबेसी बजारमा हरेक दिनजसो कुनै न कुनै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार आएर कोणसभा गर्ने गरेका छन् ।
माथिल्लो पहाडी भेगको मुख्य बजारको रुपमा रहेको कुन्ताबेसीमा मानिसहरुको आवतजावत पनि बाक्लो हुने भएका कारण त्यस आसपासका गाउँबस्तीमा घरदैलो गरेपछि उम्मेदवाहरुले साँझपख बजार छेउमा कोणसभा गर्ने गरेका छन् ।
घरदैलो,कोणसभा र ¥याली गर्दै घर घरमा पुगेर भोट माग्ने क्रम बढेपनि जनता भने उनीहरुले केही गर्छन् भन्ने कुरामा आशावादी देखिएनन् ।कुन्ताबेसी बजार काभ्रे क्षेत्र नम्बर २ अन्तर्गत पर्छ । यहाँपनि विभिन्न राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरुले चुनाव प्रचारको कामलाई व्यापक बनाएका छन् । एमाले नेता गोकुल बास्कोटा अघिल्लो पटक विजयी भएको क्षेत्र र अहिले सत्ता गठबन्धनका उम्मेदवार शिव हुमागाईसँग बास्कोटा नै प्रतिस्पर्धी भएका कारण यो क्षेत्रको चुनावी प्रतिस्पर्धालाई रोचकताका साथ हेरिएको छ । यो क्षेत्रमा चलचित्र मनोज पण्डितपनि स्वतन्त्र उम्मेदवारको रुपमा मैदानमा उत्रिएका छन् ।
चुनावका बेला भोट माग्न आउने र त्यसपछि फेरि फर्केर नआउने,कृषक बाहूल्य रहेको काभ्रेमा खेतीपाती गर्न रासायनिक मल नपाउने,खानेपानी,बाटोको समस्या जस्ताको तस्तै रहेको सो क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् ।
मण्डनदेउपुर कुन्ताबेसीकी शारदा पौडेलले गाउँघरमा चुनावी चहलपहल बढेपनि जनता भने निराश रहेको बताइन् ।
मण्डनदेउपुर कुन्ताबेसीका गाउँलेले गाउँघरमा चुनावी चहलपहल बढेपनि जनता भने निराश रहेको बताए ।
गाउँलेका अनुसार ‘चुनावको बेला यो गर्ने,त्यो गर्ने भन्छन् । चुनाव सकिएपछि मुख देखाउन आउने पनि होइनन् । कसैले केही गरेका पनि छैनन् । यो ठाउमा पानीको समस्या छ । ‘एक घर एक धारो’ नाराका साथ वितरण गरिएको पानी एकदिन आए अर्कोदिन आउँदैन । बाटो,खानपानी लगायतका समस्या जस्ताको तस्तै छ ।’
चुनाव जितेका नेताले केही काम नगरेकोले चुनाव र नेताप्रति विश्वास कम हुँदै गएको बताए । जनतालाई केही गर्लान् भन्ने आश मरेको गाउँले बताए।
‘चुनाव त राम्रो लागेको छ । यहाँ पैसाको खेल पनि हुने देखेको छु । विकासप्रेमी र स्वच्छ छवि भएको नेताको चाहाना यो स्थानका मानिसको छ । यस अगाडि जित्नेले पनि राम्रो काम गरेको छैन् । जितेर जानेले यो पनि मैले गरेको त्यो पनि मैले गरेको,यो गर्न दिएनन् । त्यो गर्न दिएनन् भनेका छन् । तर प्रष्ट कुरा गर्न सकेका छैनन् ।’
विकसित मुलुकमा डाक्टर,इन्जिनियर,पाइलट लगायतका मान्छे राजनीतिमा आउने र उनीहरुले देश बनाउने भएपनि नेपालमा सक्षम नेता नभएको बताए । नेपालमा जनताले पनि राम्रो,को नराम्रो नेता हो चिन्न नसक्ने र नेताबाट कुनै अपेक्षा गर्न सक्ने ठाउँ नरहेको उनले बताए ।
‘यहाँ खानेपानी,स्वास्थ्य अस्पताल लगायतको समस्या छ । मोटरबाटो पनि कतिपय स्थानमा कालोपत्रे गर्नुपर्नेछ । हरेक पटक चुनावमा यहाँ खानेपानी,मोटरबाटो,स्वास्थ्य नारामा बन्छ । चुनाव जितेपछि भने सबैकुरो बिर्सिन्छन् । अहिले आलु रोप्ने बेलामा मल छैन । मकैको समय पनि त्यस्तै भएर आम्दानी भएन । जो आएपनि हामी जस्ता जनताको समस्या समाधान गर्ने रहेनछन् ।’
‘नेताहरु भोट चाहियो भन्दै आएका छन् । सबै देश बनाउँछु भन्छन् बनाउने कसले ?हामीले बुझ्न सकेको छैन । अहिलेसम्म म स्वतन्त्र छु । भोट पनि स्वतन्त्र हाल्छु यो पटक । एमाले,कांग्रेस,नेकपा माओवादी कसैले पनि राम्रो काम गरेको छैन । बालेन शाह,हर्क साम्पाङ जस्ता व्यक्ति स्वतन्त्रबाट उदाएकाले स्वतन्त्रप्रति विस्वास भएको हो । राजनीतिक दलका नेता राम्रो देखेको छैन ।’
‘स्वतन्त्रबाहेक सबै राजनीतिक दलका नेताहरुलाई देखिसकियो । देश र जनताका लागि खासै केही गरेको देखिएन । पञ्चायत अहिले भन्दा धेरै ठिक थियो । यो मान्छे यो दलको भन्ने विभेद थिएन । राष्ट्रियता भन्ने थियो । अहिले राष्ट्रियताको नाममा देश बेचेर खान लागिसके । बोलीमा सत्यता छैन ।’
‘सामान्य जनतालाई त अहिलेभन्दा पञ्चायत नै ठिक थियो । पहिले एउटा राजाले खान्थे भने अहिले गाउँनै पिच्छे राजा । चुनावमा उठेको उमेदवार कसैलाई पनि भोट दिउँजस्तो लागेको छैन । नो भोटको सिस्टम ल्याए हुन्थ्यो । यो सिस्टम आयो भने नो भोटमा जनता धेरै हुन्छन् भनेर नल्याएका हुन् । जनतालाई दलको आश छैन । कसैले केही भन्नान् की भनेर मात्र जनता भोट हाल्न जान्छन् ।’
किसानले खेती गर्ने समयमा हरेक वर्ष मलको समस्या भोग्नुपर्ने बताए । नेताहरु भोट माग्न आइरहेपनि सक्षम नेता नभएको बताउँछन् । ‘सक्षम भन्दा पनि पहिलेका नेता दोहोरिएका छन् । भोट हाल्नलाई खोजेजस्तो नेता अहिलेसम्म पाएका छैनानौ । आफूलाई मन नपरेपनि भोट त हाल्छौँ । सकभर राम्रो नेता छान्ने प्रयास गर्ने हो ।’
अधिकांश स्थानीयले चुनावमा आउने तर नेता अरु बेला नआउने र भनेका कुरा पूरा नगर्ने भएकोले उनीहरुप्रति आशा गर्न नसक्ने प्रतिक्रिया दिए ।