द्विपक्षीय भेटवार्ता लुम्बिनीमा हुने प्रधानमन्त्री देउवा र मोदीबीच
बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली समकक्षी शेरबहादुर देउवाबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ ।
नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले बिहीबार एकै समयमा मोदीको नेपाल भ्रमणबारे विज्ञप्ति जारी गरी जानकारी दिएको छ । भ्रमणका क्रममा मोदीले लुम्बिनीको मायादेवी मन्दिरमा पूजाअर्चना गर्नेछन् ।
लुम्बिनी विकास कोषले नेपाल सरकारको संयोजकत्वमा आयोजना गर्ने बुद्धजयन्ती कार्यक्रमलाई पनि मोदीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, मोदीले लुम्बिनी विहार क्षेत्रभित्र अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास पनि गर्नेछन् ।