ए डिभिजन लिगमा आज ३ खेल, मनाङ र थ्रीस्टार खेल्दै
शहीद स्मारक ए डिभिजन लिगमा आज दशौँ चरणको तीन खेल हुँदैछ । शीर्ष स्थानमा रहेको मछिन्द्र एफसीले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबसँग दशरथ रंगशालमा खेल्नेछ । उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ ।
जारी लिगमा अपराजित रहेको साविक विजेता मछिन्द्र ९ खेलबाट २३ अंकसहित शीर्ष स्थानमा छ । समान खेलबाट ५ अंक मात्र रहेको च्यासल अन्तिम स्थानमा छ र रेलिगेसनबाट जोगिन संघर्षरत छ ।
उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको मछिन्द्रका लागि च्यासलविरुद्धको खेल महत्वपूर्ण रहेको प्रशिक्षक प्रवेश कटुवालले बताएका छन् ।
आजै दोस्रो स्थानको मनाङ मर्स्याङ्दी र थ्रीस्टारबीचको खेल पनि हुने भएकोले त्यस खेलको नतिजाले पनि मछिन्द्रको उपाधि यात्रालाई फाइदा पुग्न सक्छ । प्रशिक्षक कटुवालले आफ्नो खेलको साथै यस खेलमा पनि नजर राख्नेछन् । यस खेलमा थ्रीस्टार विजयी भए मछिन्द्रलाई फाइदा हुनेछ ।