स्न्यापच्याटले टिकटक जस्तै फिचर सुरु गर्यो
अमेरिकाको मल्टी मिडिया मेसेजिङ एप स्न्यापच्याटले टिकटक जस्तै नयाँ फिचर सुरु गरेको छ ।
टेक हिन्दुस्तानका अनुसार स्न्यापच्याटले ‘स्पटलाइट’ नामक फिचर ल्याएको हो । जसमा प्रयोगकर्ताले छोटो भिडियो बनाएर स्न्यापच्याटमा सेयर गर्न सक्छन् ।
सोमबार सार्वजनिक भएको स्न्यापच्याटको यो फिचर चर्चित भिडियो एप टिकटकबाट प्रभावित भएको देखिन्छ । स्न्यापच्याटले भने स्पटलाइट फिचर प्रयोगकर्ताले आफ्ना कन्टेन्ट सेयर गर्नको लागि मनोरञ्जन प्लेटफर्म रहेको बताएको छ ।
यसअघि नै स्न्यापच्याटबाट साथीहरुलाई फोटो वा भिडियो पठाइरहेका प्रयोगकर्ताले आफ्ना कन्टेन्ट सिधैँ स्पटलाइटमा सेयर गर्न सक्नेछन् । उनहरुले अझै धेरै फलोअर्स पाउन पनि सक्छन् । योसँगै प्रयोगकर्ताले राम्रा स्न्याप भिडियो स्पटलाइटमा सेयर गरेबापत एक मिलियन अमेरिकी डलर पाउने अवसर लिन सक्छन् । कम्पनीका अनुसार २०२० को अन्तिमसम्म स्पटलाइटमा बढी चर्चा पाउने भिडियोका प्रयोगकर्तालाइ एक मिलियन अमेरिकी डलर दिइनेछ ।
सो पैसा कमाउनको लागि भिडियोमा कम्पनीले दिएको दिशानिर्देशन र सर्तहरु पालना गरेको हुनु पर्ने स्न्यापच्याटले आफ्नो ब्लग पोस्टमार्फत् बताएको छ ।
स्पटलाइट अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्यूजिल्यान्ड, बेलायत, आयरल्यान्ड, नर्वे, स्विडेन, डेनमार्क, जर्मनी र फ्रान्समा सुरु हुँदैछ। यो फिचर बिस्तारै अन्य देशहरुमा पनि आउने कम्पनीको भनाइ छ । यहीँ वर्ष फेसबुकले पनि टिकटक जस्तै फिचर भएको ‘इन्स्टाग्राम रिल’ नामक नयाँ प्लेटफर्म सुरु गरेको थियो।