भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात गरिने
भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात गरिने भएको छ । उद्योगमन्त्री दीपक साहले अहिले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्नका लागि उक्त परिमामणमा आयातका लागि भारतसँग अनुरोध गरेको र भारत पनि सहमत भएको बताए ।
मन्त्री साहले मंगलबार पत्रकारहरुसँगको छलफलका क्रममा भने, ‘बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न तत्काल धेरैभन्दा धेरै परिमाणमा आपूर्ति गर्नु पर्छ । भोलिदेखि १६० बुलेट ग्यास आयात हुन्छ । अब विस्तारै एक साताभित्र ग्यासको समस्या समाधान हुन्छ ।’
मन्त्री साहले आज आयल निगममै गएर ग्यासको माग र आपूर्तिको अवस्था बुझ्ने क्रममा ग्यास अभावको समस्या समाधानका लागि आयात परिमाण बढाउन निगमलाई निर्देशन दिइएको र सोहीअनुसार निगमले इन्डियन आयल कर्पोरेसनलाई पत्राचार गरेको उनको भनाइ छ ।
यसअघि दैनिक करिब १०० बुलेट ग्यास आयात हुने गरेको थियो । गत असोज १० र १४ गते त्रिशुलीमा आएको बाढीले कृष्णभीरमा सडक कटान गरेपछि ग्यास आपूर्ति प्रभावित भएको थियो ।
हाल मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी वैकल्पिक मार्ग भएर ट्रक मार्फत ग्यास आयात भइरहेको छ ।