एआई बिना विकास सम्भव छैन : सञ्चारमन्त्री खरेल
५ मंसिर, काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको समग्र विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अनिवार्य बन्दै गएको बताएका छन्। काठमाडौंमा आयोजित “एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ नेपाल एआई रेडी फ्युचर” कार्यक्रममा बोल्दै उनले एआईको विकास र प्रयोगलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे।
मन्त्री खरेलका अनुसार ‘एआई नीति २०८२’ को निर्देशनअनुसार सरकारले राष्ट्रिय एआई काउन्सिल र राष्ट्रिय एआई सेन्टर स्थापना गरिसकेको छ। उनकाे भनाइमा एआईको प्रयोग समावेशी, नैतिक, सुरक्षित र सबैका लागि फाइदाजनक बनाउन सरकार दृढ छ। “एआईप्रति हाम्रो दृष्टि स्पष्ट छ, यसको उपयोग समावेशी र सुरक्षित बनाउनेतर्फ सरकार प्रतिबद्ध छ,” उनले भने।
एआईको पूर्ण लाभ लिन डिजिटल साक्षरता अनिवार्य रहेको उल्लेख गर्दै मन्त्री खरेलले डिजिटल विभाजन कम गर्न व्यापक डिजिटल शिक्षा आवश्यक रहेको बताए। उनले महिला, युवा तथा सीमान्तकृत समुदायलाई सशक्त बनाउन एआई उपयोग महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
साथै नागरिकको व्यक्तिगत डेटा, गोपनीयता र अधिकारको संरक्षण गर्दै जिम्मेवार नवप्रवर्तनलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले स्पष्ट पारे।