म्यानचेस्टर सिटीको सानदार जित
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा म्यानचेस्टर सिटीले लयमा फर्किएको छनक दिएको छ। शनिबार राति भएको खेलमा सिटीले लयमा फर्किएको छनक दिँदै बर्नलीलाई ५-० को फराकिलो अन्तरले हराएको छ ।
घरेलु एत्तिहाद मैदानमा भएको खेलमा सिटीको रवाफिलो जितका क्रममा रियाद महरेजले ह्याट्रिक गरे। त्यसैगरी डिफेन्डर बेन्जामिन मेन्डी र मिडफिल्डर फेरान टोरेसले पनि व्यक्तिगत एक एक गोल गरे । बर्नलीविरुद्ध एकतर्फी जित निकालेको सिटीका लागि खेलको छैटौं मिनेटमा महरेजले गोल गर्दै अग्रता दिलाउन सफल भए । त्यसपछि खेलको २२ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-० ले अगाडि बढाए ।
त्यसपछि खेलको ४१ औं मिनेटमा मेन्डीले गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाए। डिफेन्डर मेन्डीले सिटीमा आएदेखि पहिलो पटक गोल गरेका हुन्। दोस्रो हाफमा पनि सिटीले आक्रमक खेल्यो । उसका लागि खेलको ६६ औं मिनेटमा स्पेनिस मिडफिल्डर फेरान टोरेसले गोल गर्दै ४-० को अग्रतामा बनाए ।
सिटी त्यतिमै रोकिने मुडमा थिए। उसले खेलको ६९ औं अर्को गोल गर्यो । सिटीका लागि महरेजले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे। यो फराकिलो र एकपक्षीय नतिजासँगै महरेज सिटीका लागि प्रिमियर लिगमा ह्याट्रिक गर्ने दोस्रो अफ्रिकन खेलाडी भएका छन्। यसअघि याया टोरेले सन् २०१४ मा सिटीका लागि ह्याट्रिक गरेका थिए ।
यो जितसँगै सिटी लिगको आठौं स्थानमा उक्लिएको छ । सिटीले ९ खेलमा १५ अंक जोड्न सफल भएको छ । पराजित बर्नली ५ अंक जोडेर १७ औं स्थान अर्थात रेलिगेसन जोन नजिकै छ ।