मच्छिन्द्रको गोल बर्षा
(काठमाडौं) उपाधि दौडमा रहेको मच्छिन्द्रले सहित स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेसनको दबाबमा रहेको सरस्वती युथ क्लबविरुद्ध गोल बर्षा गरेको छ । सातदोवाटो स्थ्ति एन्फा कम्प्लेक्स मैदानमा बिहिबार भएको खेलमा मच्छिन्द्रले सरस्वती ६–१ गोलले हरायो ।
पहिलो हाफमा एक गोल गरेको मच्छिन्द्रले दोस्रो हाफमा तीन गोल थपेको थियो । मच्छिन्द्रका लागि दिपक राईले दुई गोल गरे । देवेन्द्र तामाङ, विशाल राई, सोमी डे र आन्द्रेसले एक–एक गोल गरेका थिए । सरस्वतीका काजिम बुसारीले सान्त्वना गोल फर्काएका थिए ।
देवेन्द्रले ४२औं मिनेटमा खाता पहिलो गोल गरेका थिए । दिपक राईले ५४ औं मिनेटमा गोल गर्दै मच्छिन्द्रको अग्रता दोब्बर बनाए । विशाल राईले ५९ औं मिनेटमा तेस्रो गोल गरेका थिए । दिपक राईले ७७ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका थिए । दिपक ७८ औं मिनेटमा ह्याट्रिक गर्नबाट चुकेका थिए ।
डिबक्स भित्र सरस्वतीका गोलरक्षकले फल खेलेपछि मच्छिन्द्रले पेनाल्टी पाएको थियो । दिपकको पेनल्टी प्रहार पोस्ट् माथिबाट बाहिरिएको थियो । मच्छिन्द्रका लागि पाँचौं गोल विदेशी खेलाडी सोमी डेले दोस्रो हाफको इन्जुरी समयमा थपेका थिए । छैटौं गोल अर्का विदेशी खेलाडी आन्द्रेसले इन्जुरी समयमै गरेका थिए ।
मध्यभागमा औसत प्रदर्शन गरेको सरस्वतीको अग्रपंक्ति कमजोर रह्यो । सरस्वतीले पेनाल्टी मार्फत सान्त्वना गोल फर्काएको थियो । डिबक्सभित्र मच्छिन्द्रका पिटर सेगुनले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सरस्वतीका बुसारीले सदुपयोग गरेका थिए । मच्छिन्द्रका दिपक राई म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
जितसँगै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको छ । मच्छिन्द्रको ११ खेलबाट २५ अंक पुगेको छ । रेलिगेसनमा रहेको सरस्वतीको समान खेलबाट चार अंक छ । दोस्रो स्थानमा रहेको आर्मीको १० खेलबाट २३ अंक छ । आजै आर्मीले एपीएफसँग प्रतिस्पर्धा गर्दैछ ।