प्रदूषित वायुले धुम्मियो आकाश, पानी नपर्ने, उडान प्रभावित हुनसक्ने
(काठमाडौं) केही दिनदेखि काठमाडौं उपत्यकासँगै देशका अधिकांश स्थानको मौसम धुम्मिएको छ । मौसम नखुलेकाले खासगरी धान भित्र्याउने चटारोमा रहेका किसानहरू पानी पर्ने हो कि भनेर चिन्तामा छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, मौसम नखुले पनि वर्षा नै हुने सम्भावना भने तत्काललाई छैन । तर, वायुमण्डलको प्रदूषणले अन्तर्राष्ट्रिय उडान भने प्रभावित हुनसक्ने खतरा बढेको छ ।
महाशाखाका मौसमविद् वरूण पौडेल वर्षा हुने नयाँ प्रणाली विकसित नभएकाले डराउनु पर्ने अवस्था नरहेको बताउँछन् । ‘अहिलेको प्रणालीले वर्षा हुँदैन, त्यसका लागि नयाँ प्रणाली विकास हुनुपर्छ’, अनलाइनखबरसँग उनले भने, ‘तर, तत्काल वर्षा हुने प्रणाली विकास हुने सम्भावना छैन ।’
पछिल्लो समय देशका अधिकांश स्थानमा तुवालो लागेको छ । प्रदूषण बढ्दा काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा तुवालो लागेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।
‘हावाहुरी चल्ने मौसममा वायुमण्डलमा भएको प्रदूषण उडाएर लैजान्छ र तुवालो देखिँदैन’, मौसमविद् पौडेलले भने, ‘तर, अहिले हावाहुरीको मौसम नभएकाले प्रदूषण बढेको छ । त्यही प्रदूषणका कारण वायुमण्डलको पारदर्शिता घटेको छ ।’
केही दिनदेखि बढेको प्रदूषण छिमेकी मुलुक भारतका लागि टाउको दुखाइको विषय बनेको छ । वायुमण्डल प्रदूषित भएपछि दिल्ली सरकारले सार्वजनिक स्वास्थ्य क्षेत्रमा संकटकाल नै घोषणा गरेको छ । निर्माण कार्यमा प्रतिबन्ध लगाइएको छ भने विद्यालय ६ नोभेम्बरसम्मका लागि बन्द छन् ।
भारतमा बढेको प्रदूषणको असर नेपालसम्मै आइपुग्ने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाका अनुसार, भारतको प्रदूषणको प्रभावले धूलोको कण केही दिन बढ्ने र तुवालो लाग्ने देखिएको छ ।
अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानमा हावाको पारदर्शिताको महत्त्वपूर्ण भूमिका रहन्छ । मौसमविदका अनुसार वायुमण्डलको पारदर्शिता ३ हजार मिटरभन्दा कम भएमा अन्तर्राष्ट्रिय उडान गर्न मिल्दैन ।
वायुमण्डलको प्रदूषण बढ्दै जाँदा अन्तर्राष्ट्रिय उडान प्रभावित हुने खतरा चिन्ता व्यक्त हुन थालेका छन् । यद्यपि, अहिले नै उडान प्रभावित हुने खतरा भने छैन ।
मौसमविद् पौडेलका अनुसार, नेपालको वायुमण्डलको पारदर्शिता ३ हजार मिटरमा झरेको छ । ‘अन्तर्राष्ट्रिय उडानमा वायुको पारदर्शिता ३ हजार मिटरसम्म हुनुपर्छ । त्योभन्दा कम भएमा उडान प्रभावित हुन्छ । नेपालको वायुमण्डलको पारदर्शिता ३ हजार मिटरबाट तल नझरेकाले तत्काल उडान नै प्रभावित हुने अवस्था भने छैन ।’