रोकिएन विद्यार्थी आन्दोलन : युनिभर्सल मेडिकल कलेजमा शुल्क विवाद
(बुटवल) अवैध रुपमा असुल गरेको अतिरिक्त शुल्क फिर्ता लगायतका माग गर्दै युनिभर्सल मेडिकल कलेज भैरहवामा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले चौथो दिन पनि आन्दोलन जारी राखेका छन् ।
सरकारको निर्देशन अनुसार विद्यार्थीबाट लिइएको बढी शुल्क एक महिनाभित्र फिर्ता गर्नुपर्नेमा नगरेपछि विद्यार्थीहरु बिहीबारदेखि आन्दोलनमा उत्रिएका हुन् । सरकारले मेडिकल कलेजलाई तोके भन्दा बढी रकम फिर्ता गर्न असोज ६ गते एकमहिने अल्टिमेटम दिएको थियो ।
विद्यार्थीहरुले प्लेकार्डसहित कलेजको प्रशासनिक भवन अगाडि धर्ना र र्याली गर्दै आएपनि कलेज प्रशासनले रकम फिर्ता गर्नेतर्फ चासो देखाएको छैन । विद्यार्थीहरुले परीक्षा शुल्क त्रिभुवन विश्वविद्यालयले तोके अनुसार लिनुपर्ने, विशेष कारणवश आन्तरिक परीक्षमा सहभागी हुन नपाएका विद्यार्थीलाई विश्व विद्यालयको परीक्षामा सहभागी गराइनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक शुल्क त्रिविको मापदण्ड अनुसार वृद्धि गर्नुपर्ने, आन्दोलन गरेको आधारमा विद्यार्थीमाथि कुनै प्रकारको विभेद नगर्न पनि विद्यार्थीले माग गरेका छन् ।
कलेजमा इन्टर्नसिपमा आएका चिकित्सकले समेत हातमा कालो पट्टि बाँधेर विद्यार्थीको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । कलेज प्रशासनले विद्यार्थीका मागपत्रबारे कुनै प्रतिक्रिया नदिएको विद्याथीको गुनासो छ । कलेजले मौखिक छलफलमा आउन आग्रह गरेको तर आफूहरुले लिखित मागहरु औपचारिक रुपले बुझ्नुपर्ने अडान राखेको आन्दोलनको अगुवाइ गरेका एक विद्यार्थीले बताए । कलेज प्रशासनले भने कलेज बाहिरका विद्यार्थी ल्याएर आन्दोलन गरेको भन्दै विद्यार्थीलाई कलेज प्रवेशमा समेत रोक लगाएको छ । बुधबार चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दसहितका विद्यार्थी नेता आएर युनिभर्सल मेडिकल कलेजका विद्यार्थीको आन्दोलनमा ऐक्यवद्धता जनाएर फर्केका थिए ।
अवैध रुपमा असुलेको अतिरिक्त शुल्क फिर्ता गराइदिन माग गर्दै विद्यार्थीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई समेत निवेदन दिएका छन् । विद्यार्थीहरुले बढी शुल्क तिरेको रसिदसहितका प्रमाणहरु पनि प्रमुख जिल्ला अधिकारीलाई दिएका छन् ।