अमेरिका : नेपालमा तिब्बतीमाथि निगरानी
(काठमाडौं) नेपालमा चीनको प्रभाव बढ्दै गएको र त्यससँगै तिब्बती शरणार्थीका गतिविधिमाथि पनि सरकारले निगरानी बढाएको एक अमेरिकी अधिकारीले बताएका छन्।
दक्षिण तथा मध्य एसिया ब्युरोकी कार्यवाहक सहायक विदेशमन्त्री एलिस डब्लु वेल्सले मंगलबार अमेरिकी संसद्को एसिया तथा प्रशान्त क्षेत्र हेर्नै परराष्ट्र मामिला उपसमितिमा उक्त कुरा बताएकी हुन्।
यसैगरी नेपालमा कार्यान्वयनमा आएको नयाँ अपराधसंहिताले ‘जबरजस्ती धर्म परिवर्तन’ मा रोक लगाएको र यसले अल्पसंख्यक धार्मिक समुदायलाई जोखिममा पारेको धारणा पनि उनले व्यक्त गरिन्। यसैगरी नेपालका अनलाइन समाचार माध्यममा गरिएको नियमनकारी व्यवस्था र अन्य निर्देशिकाले सरकार वाक स्वतन्त्रतामा अंकुश लगाउनेतर्फ उन्मुख भएको उनले बताइन्।
‘नेपालमा चिनियाँ प्रभाव बढेसँगै तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन मनाउने कार्यक्रम गर्न नदिनेलगायत तिब्बती समुदायका गतिविधिमाथि सरकारी पक्षबाट निगरानी बढाइएको छ,’ उपसमितिमा उनले भनिन्, ‘नेपालको संविधान र नेपालले गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धताले धार्मिक आस्थाका गतिविधि गर्ने अधिकार सुनिश्चित गरिए पनि व्यवहारमा धार्मिक स्वतन्त्रता चुनौतीपूर्ण छ।’
मानवअधिकारको रक्षा र आधारभूत स्वतन्त्रता संरक्षण गर्न सके त्यो नै नेपालको विकासमा सहयोगी हुने अमेरिकी धारणा रहेको पनि उनले बताइन्।