ह्वाइट हाउसले लुकाउन खोज्यो टेलिफोन संवादको विवरण
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीचको टेलिफोन संवादको विवाद चर्किदै गएको छ ।
केही महिनाअघि ट्रम्पले युक्रेनी राष्ट्रपतिसँग गरेको कुराकानीमा डेमोक्रेटिक पार्टीका नेता तथा राष्ट्रपति पदका उम्मेदवारका प्रत्यासी जोए बिडेनमाथि अनुसन्धान गर्न दबाब दिएको विषय बाहिरिएपछि विवाद उत्कर्षमा पुगेको हो ।
विवादकैबीच राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने प्रक्रिया समेत सुरु भएको छ । संसदीय समितिले छानविनको प्रक्रिया अघि बढाएपछि कुराकानीको विस्तृत विवरण लुकाउन खोजेको आरोप लागेको छ ।
ह्वाइट हाउसका वरिष्ठ अधिकारीले राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानीको विस्तृत विवरण लुकाउने प्रयास गरेको आरोप लागेको हो ।
अमेरिकी राष्ट्रपतिविरूद्ध दिइएको उजुरीमा सो कुरा उल्लेख छ। जसअनुसार ट्रम्पले आफ्ना युक्रेनी समकक्षीलाई आफ्ना घरेलु राजनीतिक प्रतिद्वन्द्वी जो बाइडन विरुद्ध अनुसन्धान गर्न दबाव दिएका थिए । सार्वजनिक गरिएको पछिल्लो उजुरीमा फोन संवादको प्रतिलिपि नियमित कम्प्युटर प्रणालीमा नराखिको बताइएको छ ।
त्यसको साटो विशेष प्रकारको सूचनाको निम्ति प्रयोग हुने अलग्गै कम्प्युटर प्रणालीमा त्यो राखिएको उजुरीमा उल्लेख छ।
सभामुख न्यान्सी पेलोसीले रिपब्लिकन राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको औपचारिक अनुसन्धान पार्टीले अघि बढाएको घोषणा गरेकी थिइन्। उनले ट्रम्पमाथि जो बाइडनको छवि धमिल्याउन विदेशी सहयोग खोजेको आरोप लगाएकी छन् ।
बाइडन सन् २०२० मा हुन लागेको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने दौडको अग्रपंक्तिमा रहेका छन् ।
ट्रम्पले उनीमाथि छानविन गराउन युक्रेनलाई अमेरिकाले दिने सैन्य सहायतालाई अस्त्र बनाएको पेलोसीको आरोप छ। ट्रम्पले युक्रेनका राष्ट्रपतिसँग फोनमा कुरा गर्नुअघि सैन्य सहायता आफूले रोकेको स्वीकार गरेका छन्।
यद्यपि उनले बाइडन विरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिन त्यसो नगरेको उनको भनाइ छ।
अमेरिकी तल्लो सदनका सदस्यहरूले त्यो उजुरी हप्तौसम्म आफूहरूसम्म पुग्न नदिनुको कारणबारे देशका सबैभन्दा उच्च गुप्तचर अधिकारीसँग सोधेपुछ गरेका छन्।