जग्गा विवादमा आफ्नै भाइलाई कालोमोसो दल्ने व्यक्ति पक्राउ
जग्गाको विषयलाई लिएर आफ्नै भाइलाई कालोमोसो दल्ने एक व्यक्तिलाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१, टेम्पोपार्कका ६७ वर्षीय लक्ष्मणप्रसाद शर्मा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार मंगलबार बिहान करिब ८ः५५ बजे वीरेन्द्रनगर नगरपालिका–२ टेम्पोपार्कमा बस्ने आफ्नै भाइ ६३ वर्षीय नारायणप्रसाद शर्मालाई जग्गाको विषयलाई लिएर लक्ष्मणले कालोमोसो छ्यापेका थिए।
घटनाबारे प्रहरी चौकी बाङ्गेसिमलमा खबर पुगेपछि प्रहरी सहायक निरीक्षक टिकाराम थापाको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले लक्ष्मणलाई नियन्त्रणमा लिएको बोहोराले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।