सरकारले कमजोरी नसच्चाए आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकारले आफ्ना कमजोरी नसच्चाए आफैँ पतनको बाटोमा जाने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले दुई तिहाइको सरकार भाषण र ‘स्टन्ट’मा मात्र सीमित नभई व्यवहारमै जनउत्तरदायी बन्नुपर्ने बताए।
उनले वर्तमान सरकारले कर्मचारी संयन्त्रमाथि अनावश्यक नियन्त्रण र दबाब सिर्जना गरी आतङ्कित बनाउने काम गरेको आरोप लगाए।
सांसद शाहीले भदौ १७ र ३१ गते सर्वोच्च अदालतमा भएको आगलागी तथा काठमाडौँ जिल्ला अदालतबाट मुद्दाका मिसिलहरू रहस्यमय रूपमा चोरी भएको घटनाको छानबिन गर्न माग गरे।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले अब निर्माण हुने भौतिक संरचनामा जलवायु जोखिमलाई सम्बोधन गर्नुपर्ने धारणा राखे। अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जलवायु न्यायको माग दृढतापूर्वक उठाउनुपर्नेमा पनि उनले जोड दिए।
त्यस्तै, चाडपर्वका बेला हुने महँगी र कालोबजारी नियन्त्रण गर्न तथा नागरिकका लागि सुरक्षित यात्राको व्यवस्था मिलाउन उनले सरकारसँग माग गरे।
मासिक ४५ देखि ५० हजार मेट्रिक टन एलपी ग्यासको माग रहेकोमा पछिल्लो चार महिनामा २० देखि २५ हजार मेट्रिक टन मात्र आयात भएको भन्दै शाहीले कूटनीतिक पहलमार्फत ग्यासको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराए।